आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

क्वाँटी खाँदा फाइदै फाइदा

क्वाँटी खाँदा फाइदै फाइदा

नागरिक पाटी

२७, श्रावण २०७९
  • 6.4K
    SHARES
  • क्वाँटी खाँदा फाइदै फाइदा

    आज जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन। चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ लगायतका गेडागुडी मिसाएर बनाइएको पौष्टिक खानेकुरा हो क्वाँटी । यसले थकित शरीरमा ऊर्जा संचार गर्छ भने चिसो पनि भगाउँछ ।

    images

    स्वास्थ्यका लागि फाइदाजनक क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, फोलिक एसिड, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । क्वाँटी शाकाहारी, गर्भवती महिला एवं बालबालिकादेखि बूढाबूढीसम्मका लागि उपयोगी छ।

    यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ ।

    जनैपूर्णिमाको दिन क्वाँटी खाने चलनले सांस्कृतिक महत्त्व पनि त्यत्तिकै राखेको छ। चेलीबेटी र छिमेकीहरूलाई क्वाँटीसहित अनेक परिकार बनाई ख्वाउने चलनले सामाजिक र पारिवारिक सद्भाव पनि झल्काउँछ। स्वास्थ्य राम्रो राख्न पोषणयुक्त भोजन खानुपर्छ भनेर सन्देश पनि दिन्छ।
    सस्तो, पोसिलो र विकारविहीन खाना चाहने इच्छा सबैको हुन्छ। बजारमा तरकारी र फलफूलको भाउ चर्को हुन्छ। खानेकुरा नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्छ भन्ने कुरा थाहा पाउँदा यस्ता कुराको विकल्प खोजिन्छ। स्वस्थ रहन सफा र सन्तुलित खाना खानुपर्छ। पोसिलो मानिएका खानेकुरा कि महँगा हुन्छन् कि पाइँदैनन् तर प्रकृतिले हामीलाई सजिलो विकल्प प्रदान गरेको छ। त्यो हो, टुसा उमारेका खाना। यस्तो खाना पोसिलो, सस्तो र केही नमिसिएको हुन्छ। साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हो। सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्छ।
    टुसा उमार्नु भनेको घरभित्र नै करेसाबारी र फलफूल बगैंचा तयार गर्नुसरह हो। इन्धन वा पैसा खर्च नगरेर नै खानेकुराको उपादेयता वृद्धि गर्ने वा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्त्वको पोषण वृद्धि गर्नु हो। टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषक तत्त्वमा पनि धेरै तत्त्व थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा लिइन्छ।

    प्राकृतिक कारणले वा जीवनशैलीको कारणले बूढो हुने जुन गति हुन्छ, त्यसलाई धीमा पार्ने मानिसको चाहना हुन्छ ता कि स्वस्थ, सुन्दर भएर लामो समयसम्म बाँच्न सकियोस्। बुढ्यौली रोक्न भोजन र जीवनशैली परिवर्तन गर्नु र टुसायुक्त खाना एउटा राम्रो उपाय हो। यदि टुसा उमारेको छैन भने गेडागुडी जस्तै- मुंग, चना, गहुँ पचाउन गाह्रो हुन्छ तर गेडागुडीहरूलाई टुसादार रूपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडीभन्दा पचाउन धेरै सजिलो हुन्छ।

    टुसा उमार्नु भनेको घरभित्र नै करेसाबारी र फलफूल बगैंचा तयार गर्नुसरह हो। इन्धन वा पैसा खर्च नगरेर नै खानेकुराको उपादेयता वृद्धि गर्ने वा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्त्वको पोषण वृद्धि गर्नु हो। टुसा उमारेको अन्न वा गेडागुडीमा पहिले भइरहेका पोषक तत्त्वमा पनि धेरै तत्त्व थपिन जाने भएकाले यसलाई प्रकृतिको वरदानका रूपमा लिइन्छ।

    अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियतबाट रोक्छ। हरियो तरकारी जत्तिकै फाइदाजनक तर हरियो तरकारीभन्दा धेरै सस्तो हुन्छ। रोग प्रतिरोधात्मक शक्ति बढाउँछ। विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ। रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ। एक किलोग्राम जति सुक्खा गेडागुडीबाट तीनचार किलोजति टुसायुक्त खाद्य तयार हुन्छ। अंकुरित खानाले शरीरमा पोषण दिन्छ। टुसा उम्रने क्रममा नै एउटा विशेष पाचन रस पैदा हुन्छ जसले कार्बोहाइड्रेटलाई पचाउन मद्दत गर्छ। त्यसैगरी प्रोटिन पनि परिवर्तन भएर सजिलै पाचन हुने अवस्थामा पुग्छ। भोजन पचाउन शरीरलाई इन्जाइमको अत्यन्त आवश्यक हुन्छ। कतिपय त बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरका लागि काम लाग्दैन। टुसादार गेडागुडीमा चाहिँ इन्जाइम पर्याप्त हुन्छ।

    सुक्खा दाल, गेडागुडी र बीउजस्ता खाद्यपदार्थमा भिटामिनहरू हुन्छन्। तर, टुसा उम्रने प्रक्रियापछि (भिजाउने, उम्रने, टुसा पलाउने) यी खाद्य पदार्थमा रहेको भिटामिनको मात्रा धेरै वृद्धि हुन्छ। यसमध्ये भिटामिन 'सी' एउटा महत्त्वपूर्ण तत्त्व हो जुन टुसादार गेडागुडीमा सामान्य अवस्थामा भन्दा ६ गुणा ज्यादा हुन्छ। भिटामिन बी कम्प्लेक्स र अन्य भिटामिन पनि त्यसैगरी वृद्धि भइरहेको हुन्छ। यसरी टुसादार गेडागुडीले शरीरका लागि सस्तो र अति आवश्यक महत्त्वपूर्ण भिटामिन प्रदान गर्छ।

    टुसा उमारिएको खाना खाएमा पोषक तत्त्व पूर्ति गर्न अतिरिक्त खानेकुरा आवश्यक पर्दैन। टुसायुक्त खाना खानेले भिटामिन, क्याल्सियम, लवणजस्ता तत्त्व प्राप्त गर्न बजारबाट किनेर ट्याब्लेट, क्याप्सुल, टनिक आदि खानु पर्दैन।
    हाम्रो शरीरमा भिटामिनको जति आवश्यकता छ त्यति नै खनिज पदार्थ पनि आवश्यक पर्छ। शरीरका लागि आवश्यक खनिजपदार्थ क्याल्सियम, लौहतत्त्व, फोस्फोरस, सोडियम, पोटासियम र म्याग्नेसियम आदि हुन्। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण क्याल्सियम, लौहतत्त्व र फोस्फोरस हुन्। यी तत्त्वले हाम्रो हाड बलियो बनाउन र स्नायुप्रणाली सक्षम बनाउन सहयोग गर्छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - ०९:०७:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology