पाचौँ हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ले दश करोड रुपैयाँ कमाइ गरेको छ । निर्माण पक्षले पत्रकार सम्मेलन गर्दै चलचित्रले चौथो हप्तामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् ।
चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलो हप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । पाचौँ हप्तामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।
आयोजित पत्रकार सम्मेलनमा लेखकसँगै निर्देशक समेत रहेका प्रदीप भट्टराईले चलचित्र निर्माणको उद्देश्य व्यक्त भावनालाई भन्नु रहेको बताए । धेरै सन्तानले आफ्नो अभिभावकसँग भन्न नसकेका कुराहरू चलचित्रले भन्ने उनले बताए । स्वदेश मात्र नभई विदेशमा समेत चलचित्रले राम्रो दर्शक पाइरहेको कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले बताए ।
एक्लोपनको कथा देखाइएको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।