चाैध वर्षकाे अमेरिका बसाइपछि चित्रप्रसाद कविराजकाे नाति इन्द्रप्रसाद बाजेबज्यै भेट्न नेपाल फर्किए । मान्छन् भने उनीहरुलाई अमेरिका लैजाने पिचार थियाे उनकाे ।
नातिसँग भेट भएपछि कविराज दम्पति औधी खुशी भए । अमेरिका जान नमानेपछि नातिले साेधे - 'अमेरिका जान मान्नुभएन हजुरहरु! अरु मनकाे इच्छा के के छन् भन्नुस्, म पूरा गर्छु ।'
बूढाले भने- ' हाम्रा तीनवटा रहर छन् । पहिलो , बुढाबुढी भएर मुक्तिनाथ दर्शन गर्ने । दाेस्राे, हामी दुवैकाे चाैरासी पूजा भव्य रुपमा लगाउने। तेस्राे, ज्यामिरेफाँटमा रहेकाे बाजेकाे पालाकाे काठकाे पाटीलाई ढलान गरेर नयाँ बनाउने । यति भए हामीलाई पुग्याे ।'
सानैमा आमा-बाबु गुमाएका इन्द्रप्रसादले बाजेबज्यैकाे अन्तिम इच्छा सहजै पूरा गरिदिए र अमेरिका फिरे । आफ्ना रहरहरु पूरा भएकाेमा कविराज दम्पति अत्यन्त हर्षित छन् र शनिबारे सत्सङ्गमा अरुसित नातिकाे प्रसंशा गरिरहन्छन् ।