काठमाडौं । नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ । ३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से सूचक ४१।०१ अंकको गिरावट आउँदै २१२७।५२ अंकमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से सूचक २१६८ अंकमा अडिएको थियो ।
नेप्सेमा तीव्र गिरावट आएपनि सोमबार ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै नेप्सेका उपसूचकहरु ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३।६१ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको ३।४२ प्रतिशतले अन्य समूहहरुको उपसूचक क्रमशः १ देखि २।८९ प्रतिशतसम्मले घटेका छन् ।
यद्यपि, आज दुईवटा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी ली। र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।