शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सकम्बरी विवादलाई लिएर प्रकाश सपुतले भने, "सबै सँग क्षमा चाहन्छु"

सकम्बरी विवादलाई लिएर प्रकाश सपुतले भने, "सबै सँग क्षमा चाहन्छु"

नागरिक पाटी

८, बैशाख २०८०
  • 4.8K
    SHARES
  • सकम्बरी विवादलाई लिएर प्रकाश सपुतले भने, "सबै सँग क्षमा चाहन्छु"

    गायक प्रकाश सपुतको गीत सकम्बरी यति वेला चर्चामा छ । सात दिनमै एक करोड भ्युज पाएको यो गीतको चर्चा सँगै विवाद पनि भइरहेको छ । गीतले रात्रिकालीन व्यवसायलाई गलत रूपमा प्रस्तुत गरेको भन्दै रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घले वित्रस्ति नै निकालेर आपत्ति जनाएपछि गायक सपूतले प्रष्टीकरण दिएका छन् ।

    images
    images

    सपुतले भनेका छन् "मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, सबै सँग क्षमा चाहन्छु । म पनि यही समाज र परिवेशको उत्पादन हुँ । मेरो चेतना पनि यही निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन, छ ।"

    प्रकाश सपूतको प्रष्टीकरण

    श्री अध्यक्ष ज्यु !

    रात्रिकालीन मनोरञ्जन व्यवसायी सङ्घ , काठमाडौँ ।

    पछिल्लो गीत “ सकम्बरी” ले उठाउन खोजेको महिला यौन हिंसा को विषय गम्भीर र साझा विषय हो । यो सबै क्षेत्र मा छ ।अझ भनौँ विश्वव्यापी छ । यो व्यक्ति विशेष छ, दृष्टि विशेष छ प्रवृत्ति विशेष छ । त्यसैले यो एउटा क्षेत्रमा मात्रै छ भन्नु अस्वाभाविक हो । र कुनै अर्को क्षेत्रमा छदै छैन भन्नु पनि अपत्यारिलो हो । तर पात्र र पात्रको पृष्ठभूमि तयार गर्दा रात्रिकालीन मनोरञ्जन क्षेत्रलाई छानिएको छ । यो एउटा शैली हो । कथा निर्माण प्रक्रिया हो । यसलाई कुनै अधिकारीक रिपोर्ट सामग्री जस्तो गरी नबुझिदिनुहोला । यसलाई कथा वा कला सामग्री को रूपमा बुझिदिनु होला । यदि रात्रिकालीन मनोरञ्जन व्यवसायी (दोहोरी साँझ) हुँदैनथ्यो भने म एउटा कलाकारको रूपमा स्थापित हुँदैन थिए । म सधैँ रिणि छु । आभारी छु । र साथै ईमान्दारीताका साथ भन्नुपर्दा यदि यो क्षेत्रमा काम गरेको अनुभव हुदैन्थ्यो भने “ सकम्बरीको “ कथा पनि म सँग हुँदैनथ्यो ।

    गीत र भिडियो लाई लिएर प्रेस विज्ञप्ति र अन्तरवार्ताहरू आएपछि म सुरुमा अलिकति झस्किए । तर अहिले म ख़ुशी छु । तपाईहरु रात्रिकालीन मनोरञ्जन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन संस्थागत भएर लागिरहनु भएको रहेछ । ५ वर्ष साँझमा काम गर्दै गर्दा मैले अपमानजनक दृष्टिकोण खेपेको छु । थुप्रै नैतिक प्रश्नहरूको सामना गरेको छु । तर त्यही बाट म जस्तै थुप्रैले आफ्नो जीवनको लय भेटायौ र अगाडि बढ्यौ । त्यसैले समग्रमा क्षेत्र राम्रो र नराम्रो भन्दा पनि हामी भित्र पनि राम्रा र नराम्रा पक्ष र प्रवृत्ति छन् त्यसमाथि बाहिरबाट हेर्ने समाजको दृष्टिकोणमा त झन् भंयकर पक्षपात छ । ठुलो समस्या छ । यसरी समस्या सबै तिर छ । त्यसैले हामी सबैको साझा उद्देश्य समस्या समाधान हो । मर्यादित र सफल व्यवसाय गर्ने , रोजगार सिर्जना गर्ने, आर्थिक रूपमा सम्पन्न, हिंसा रहित, विभेद रहित समाजको निर्माण गर्ने नै तपाई हाम्रो प्रयास हो । यसमा अझै धेरै भूमिका राज्यको हुन्छ । हामीलाई शिक्षित बनाउने र चेतना निर्माण गरिदिने काम पनि राज्यको हो । हामी जस्तो समाजमा बस्छौ त्यस्तै चेतना बन्छ । त्यस्तै दृष्टिकोण बन्छ । सिर्जना त्यस्तै बन्छन्। त्यसैले यो देशकै समस्या हो ।

    खैर, मेरो सृजनाले प्रत्यक्ष र अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ सबै सँग क्षमा चाहन्छु । मलाई कसैलाई होच्याएर, आफू अग्लिनु छदै छैन, कसैलाई असफल बनाएर आफू सफल हुनु छदै छैन । समाजको सिर्जना गर्ने तर समाजकै चित्त दुखाउने मेरो नियत हुँदै होइन । म पनि यही समाज र परिवेशको उत्पादन हु । मेरो चेतना पनि यही निर्माण भएको हो। त्यसैले कमजोरी छैन भन्दिन । छ । तर सकिनसकिर जानिनजानि गर्न खोजेको चाहिँ समाजका अँध्यारा कथाहरू देखाएर उज्यालो तिर लाग्न प्रेरित गर्ने भन्ने हो । रात्रिकालीन मनोरञ्जन व्यवसाय मात्रै होइन देशका सबै क्षेत्रलाई, सबै अङ्गलाई मर्यादित बनाउन, सफल र समृद्ध बनाउन तपाई हामी सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।

    वाकी, म फर्किएपछि दोहोरी साँझमा बसेर समीक्षा गरौला, मुड चल्यो भने एउटा दोहोरी पनि सुनाउला म।। कुनै मिठो भाका छान्दै गर्नु होला । धन्यवाद !

    प्रकाश सपुत, अमेरीकाबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ८, २०८० शुक्रवार - ०८:४७:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology