आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अत्यधिक गर्मीले तराई-मधेसको जनजीवन प्रभावित

अत्यधिक गर्मीले तराई-मधेसको जनजीवन प्रभावित

नागरिक पाटी

१८, जेठ २०८०
  • 5.0K
    SHARES
  • अत्यधिक गर्मीले तराई-मधेसको जनजीवन प्रभावित

    धनुषा । धनुषासहित तराई-मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो ।

    images

    जनकपुरधामसहित तराई-मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।

    घर बाहिर निस्कनै मुस्किल

    सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

    गर्मीले दिउँसोको समयमा मुख्य बजारका सडक सुनसान हुन थालेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ । गर्मीका कारण विद्यालय, उद्योग व्यवसाय सबै प्रभावित भएका छन् ।

    बिरामी बढे

    गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सक बताउँछन् । गर्मीले विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेका छन् ।

    प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेका डा दासको भनाइ छ ।

    डा दासले भने, “गर्मी बढेसँगै धनुषामा ‘हिट स्ट्रोक’ अर्थात् ‘लू’ लाग्ने जोखिमसमेत बढ्दै गएको छ ।” दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने गरम हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लु लाग्ने जोखिम बढेको डा. दासको भनाइ छ । बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पर्दाथको सेवनलाई बढाउनुका साथै काम नभए दिउँसोको समयमा घरबाहिर नस्किन उनले सर्वसाधारणलाई सुझाव दिए ।

    बन्द हुँदै विद्यालय बन्द

    समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षाकोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको छ । क्षीरेश्वर जनता उच्च माध्यमिक विद्यालय महेन्द्रनगरका प्रधानाध्यापक बाबुसाहेव यादवले अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या देखिएको बताए । “अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्”, उनले भने, “घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ ।” समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीमा झनै समस्या देखिएको प्रअ यादवले बताए ।

    गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक दिनेश गुप्ता बताउछन् । “विद्यालयमा पङ्खा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ”, गुप्ताले भने, “बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चा गर्मीले रातोपिरो भइसक्छन् ।” अभिभाव ज्योति झाले गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको बताए । “समयसमयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन”, झाले भने । रासस

    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १४:१४:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology