काठमाण्डौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीलाई पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भदौ ५ गते मंगलबार भिजन लुम्बिनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १९ लाख १२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ९१ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
सो सेयरका लागि कास्की जिल्लाका माछापुच्छ्रे गाउँपालिकाको वडा नं। १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं। १९ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १९ हजार १२० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा असोज २ गते हुनेछ भने ढिलोमा असोज १७ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असोज २ गतेभित्र आवेदन दिनु पर्नेछ।