सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमा नै पहिलो पटक बुक बिल्डिङ्ग विधि मार्फत मंसिर ६ गतेदेखि सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका योग्य संस्थागत लगानीकर्ताहरुका लागि सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले बिक्रीमा ल्याउने सेयर संख्याको ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर बिक्री खुला हुनेछ ।
योग्य संस्थागत लगानीकर्ताहरुका लागि नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रिया मार्फत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले सुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ राखेकोमा हाल त्यसलाई घटाएर ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरेको छ ।
योग्य संस्थागत लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको रजिष्टर्ड कार्यालय, यूएनआई शान्तिमार्ग, भद्रकालीमा गई बोलपत्र आवेदन फाराम रितपूवर्तक भरी शिलबन्दी गरिएको गोप्य बोलपत्र फाराम बुझाउनुपर्नेछ ।