सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि

नागरिक पाटी

२४, मंसिर २०८०
  • 2.9K
    SHARES
  • नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धि
    images

    काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ । आजको कारोबारपछि परिसूचक एक सय ११ दशमलव २० अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

    images

    आज दिउँसो ११ बजेर पाँच मिनेटमा नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । एघार बजेर २५ मिनेटमा कारोबार खुलेको दुई मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा पाँच प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरिएको हो ।

    हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार आजको कारोबारमा छ प्रतिशतको वृद्धि देखिएसँगै दिनभरिका लागि कारोबार स्थगन गरिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले राससलाई जानकारी दिनुभयो ।

    आज दुई सय ४४ कम्पनीको १३ लाख ६७ हजार छ सय १५ कित्ता शेयर सात हजार १४ पटक खरिदबिक्री हुँदा रु ४८ करोड २४ लाख ८२ हजार दुई सय ३९ बराबरको कारोबार भएको छ । रिलायन्स फाइनान्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, राप्ती हाइड्रो एन्ड जेनरल कन्स्ट्रक्सन कम्पनी लिमिटेड, शुभम् पावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कर्जा बिस्तार र ब्याजदर घटाउने विषयमा केही लचिलो नीति लिएको थियो । लचिलो मौद्रिकको सकारात्मक प्रभाव बजारमा देखिएको छ । मुख्यगरी पुँजीबजारसँग सम्बन्धित विषयमा राष्ट्र बैङ्कले सेयर धितो कर्जाको जोखिम भार घटाई एक सय २५ प्रतिशत कायम गरेको थियो ।

    त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैङ्कले बैङ्क दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशतमा कायम गरेको थियो भने नीतिगत दरलाई छ दशमलव पाँच प्रतिशतबाट घटाएर पाँछ दशमलव पाँच प्रतिशतमा कायम गरेको थियो । त्यसैगरी निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे चार प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको थियो । रासस

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १७:४५:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology