काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ । मंगलबार नगरप्रमुख शाहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरूसहितको बैठकले उक्त समिति गठन गरेको हो ।
समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन् । यस्तै संघीय स्वास्थ्य मन्त्रालयको तर्फबाट एकदेव खनाल, प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट खगेश्वर गेलाल, नेपाल मेडिकल काउन्सिलको तर्फबाट विश्वराज दवाडी, निजी स्वास्थ्य संस्थाहरुको छाता संगठन (एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट्स अफ नेपाल) का बागमती प्रदेश अध्यक्ष चण्डेश्वर वैद्य र नेपाल नर्सिङ्ग काउन्सिलको तर्फबाट शुक्ला खनाल सदस्य छन् ।
कान्ति बाल अस्पतालबाट पङ्कज राय सदस्यमा मनोनित भएका छन् भने स्वास्थ्य विभागका प्रमुखकी सचिव सजिना महर्जन पनि सदस्य चयन भएकी छन् । बैठकमा नगर प्रमुख शाहले लक्षित वर्गसम्म स्वास्थ्य सेवा सहज रुपमा पुर्याउन ऐनको पालना गरेको बताए । समिति गठन गर्नुको उद्देश्य नै सार्वजनिक स्वास्थ्य सेवा लिने र दिने दुवै प्रकृया सहज बनाउनु रहेको बालेनको भनाई छ ।