नागढुंगा–सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी फागुन २३ गते गरिने भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा नागढुंगा सुरुङमार्गको हालसम्मको प्रगतिबारे छलफलमा बोल्दै नागढुंगा सुरुङमार्ग आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले यस्तो जानकारी दिनुभएको हो ।
उहाँले आगामी मार्च ६ तारिक अर्थात फागुन २३ गते सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गर्नेगरी काम भइरहेको बताउनु भयो । उहाँले मुख्य सुरुङ २।६८८ किमीमध्ये ३२ मिटर मात्र खन्न बाँकी रहेको बताउनु भयो । उहाँले सुरुङ निर्माण गर्दादेखि धादिङ र काठमाडौंतर्फ केही मुआब्जा लगायतका समस्या केही समस्या अझै बाँकी रहेको बताउनु भयो । उहाँले अहिलेसम्म २ हजार ६ सय ३६ मिटर सुरुङ खन्ने काम सकिएको बताउनु भयो ।
उहाँले समग्र आयोजनाको भौतिक प्रगति ६८।५ प्रतिशत र ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएको बताउनु भयो । उहाँले एउटा फ्लाई ओभर निर्माणको क्रममा रहेको बताउनु भयो । डुमरुले अहिलेसम्म ७१ दशमलव ८७ प्रतिशत भौतिक काम सम्पन्न भएको र ३२ मिटर अझै सुरुङ खन्ने काम बाँकी रहेको जानकारी दिनुभयो ।
नागढुङ्गा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेल (उद्धार सुरुङ) को ‘ब्रेक थ्रु’ यसअघि नै भइसहेको छ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको २।६ किमी लम्बाइ रहेको छ ।