चरैदी,धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकसंगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा धादिङको चरौँदीमा आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको संगीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताउनुभएको हो ।
‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार भएकाले राम्रो नभएको बताउनुभयो । सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने पनि बताउनुभएको छ । उहाँले बढीभन्दा बढी सहमतिका साथ एकतावद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित हुन आग्रह गर्नुभयो ।
४८ टिमको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, द्धितिय पुरस्कार २ लाख, तृतिय पुरस्कार १ लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको छ । त्यसैगरी प्रतियोगी कलाकार मध्येबाट उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नवगायक, उत्कृष्ट नव गायिकालाई समेत आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय लोक तथा दाहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन ८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ।