आगामी फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो ।
डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट ट्रेलर रिलिज गरिएको छ ।
ट्रेलरलाई ‘डर र शक्तिको खेल’ को रूपमा प्रस्तुत गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरू सबैलाई समेटिएको यसले नेपालको तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस गरिएको छ । साथमा राजनीतिको असरको समेत झल्को दिइएको छ ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।
चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सहनिर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाकार सुशन प्रजापति हुन् ।