धादिङको थाक्रे गाउँपालिकाको गाउँ सभा तथा १४ औं अधिवेशन सम्पन्न भएको छ । बुधबार गाउँपालिकाले गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष ०८०/८१ को हाल सम्मको प्रगति विवरण तथा विभिन्न विधेयक पारित गर्दै गाउँपालिकाको १४ औं अधिवेशन गरेको हो ।
गाउँ सभामा चालू आर्थिक बर्षको फागुन मसान्त अर्थात आज सम्मको बजेट तथा कार्यक्रमको समिक्षा प्रगति विवरण गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रस्तुत गर्नुभएको छ । उहाँले विषयगत क्षेत्रमा भएका प्रगती विवरण सभा समक्ष प्रस्तुत गर्नुभएको हो ।
सभामा अध्यक्ष आचार्यले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषी तथा पशु विकास, सामी परियोजना, महिला तथा बालबालिका र राजश्व तर्फको प्रगती विवरण प्रस्तुत गर्नुभएको छ । यस्तै उहाँले फागुन मसान्त सम्मको बजेट कार्यान्वयनको अवस्था, बोलपत्र मार्फत सञ्चालन भएको योजनाहरुको विवरण सहित वडागत विनियोजित बजेटको प्रगती समिक्षा सभामा प्रस्तुत गर्नुभएको छ ।
सभा मार्फत विभिन्न विधेयकहरु पनि पारित भएका छन् ।
उपाध्यक्ष यन्त्र बहादुर थापाले प्रस्तुत गर्नुभएको थाक्रे गाउँ शिक्षा विधेयक २०८०, फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयक, उद्योग तथा व्यवसाय अभिलेखिकरण विधेयक र आर्थिक विधेयक २०८० सँसोधन सभा मार्फत सर्वसम्मतले पारित भएको हो ।
यस्तै सभा मार्फत कार्यपालिकाबाट सँसोधन भएका योजनाहरुको अनुमोदन तथा वडा कार्यालउ र गाउँपालिकाबाट सँसोधन भएको योजना तथा कार्यक्रमहरु पनि सर्वसम्मतले पारित भएको हो ।
गाउँसभा तथा अधिवशनमा गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल वडा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।