नेपालको शेयर बजार निरन्तर वृद्धि हुँदै आएको छ । यो चार दिनमा मात्रै नेप्से सूचकमा करिब १०० अङ्कको वृद्धि आएको छ । साताको सुरूवाती कारोबार दिन आइतबार ४५ दशमलव ६९, सोमबार २७ दशमलव ५४ र आज मंगलबार २३ दशमलव ९४ अङ्कले बढेर नेप्से सूचक दुई हजार ११५ दशमलव ९४ विन्दुमा उक्लिएको छ । त्यसअघि गत बिहीबार ० दशमलव ७९ अङ्कले बढेको थियो ।
आज ३१७ धितोपत्रको एक करोड ३२ लाख ४१ हजार २१७ कित्ता शेयर ७३ हजार ६६७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ ५६ पैसा बराबरको शेयर कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.९४५ देखि १.२५५ सम्मले वृद्धि भएको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये विकास बैंक र व्यापारबाहेक सबै उपसूचकहरूमा हरियाली छाएको छ ।
अघिल्लो कारोबार दिन सोमबार २७ दशमलव ५४ अङ्कले बढेर नेप्से परिसूचक दुई हजार ९२ विन्दुमा रोकिएको थियो भने पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँ १९ पैसा बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका धितोपत्रमध्ये जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धिसँगै सकारात्मक सर्किट लागेको छ । त्यस्तै, मध्येभोटेकोशी जलिविद्युत्, हिमालयन लघुवित्त र इस्टर्न हाइड्रोपावरको शेयर मूल्य सर्किट लेभलमा कारोबार भयो ।
यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, भगवती हाइड्रोपावर, एनआईसी एशिया ग्रोथ फण्ड–२, रिभर फल्स पावर र माण्डु हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेको छ ।
खासगरी नेपाल राष्ट्र बैंकले हालै गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षापछि शेयरबजारमा केही सुधार आएको देख्न सकिन्छ । सोही समीक्षाका कारण लगानीकर्ताहरूमा समेत केही सकारात्मक मानसिकता देखिएको छ । मौद्रिक नीतिको समीक्षाले कर्जा प्रवाह बढाउने लक्ष्य नीतिले लिनाका साथै बैंकहरुले कोर क्यापिटलको २० प्रतिशत शेयर एक वर्षपछि बेच्न पाउने व्यवस्था गरेको छ । यसले पनि लगानीकर्तामा उत्साह आएको अनुमान गर्न सकिन्छ ।