सरकारले सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधनका विषयमा सहजीकरण गर्न समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।
समितिमा अर्थ मन्त्रालयका सचिव र सङ्घीय संसद्का महासचिव सदस्य रहेका छन् । कर्मचारीको माग सम्बोधनका लागि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन, कानुन न्याय मन्त्री पदम गिरी, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई बोलाएर छलफल गर्नुभएको हो ।