आज असार १५, २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदैछ । यसपाली २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको हो । यस वर्ष ’जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरिएको छ ।
जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवम् उपलव्ध प्रविधिको प्रचार प्रसार गरी किसानमाझ पु¥याउने उदेश्य छ । यसले धानको उत्पादन एवम् उत्पादकत्व बढाउन भूमिका खेल्ने सरकारको विश्वास छ ।
सरकारले धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा विशेष कार्यक्रम नै गर्दैछ । विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ पनि सहभागी हुनुहुनेछ । त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद् नार्कले ललितपुरको खुमलटारमा र राष्ट्रिय किसान आयोगले काभ्रेमा कार्यक्रमको आयोजना गरेको छ । धान उत्पादन हुने जिल्लामा पनि विभिन्न कार्यक्रम गरिँदैछ ।
धान रोपाइँसँगै आज दही च्यूरा पनि खाने गरिन्छ । असार १५ गतेलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । नेपालमा २०६१ सालदेखि हरेक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरिएको छ ।