धादिङ सहित मध्य र पूर्वसहित देशका धेरै ठाउँमा गरातिदेखि नै पानी परीरहेकोे छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै बागलुङको गलकोटमा १०२ मिलिमिटर पानी परेको छ । ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ । दाङ, बाग्लुङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा लगायतका ठाउँमा बाढी आएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैबिच आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भोलिसम्म बाग्मती प्रदेशका तीन जिल्ला चितवन, मकवानपुर र सिन्धुपाल्चोक र गण्डकी प्रदेशका नवलपरासी पूर्व, पर्वत, तनहुँ र स्याङ्जा चार जिल्लाका साना नदीमा बाढी जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ । यस्तै लुम्बिनीका नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, दाङ, कपिलवस्तु र बाँकेमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।