रोल्पामा सोमबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। दुर्घटनामा आठ जना घाइते भएका छन्। त्यसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको जिप्रका रोल्पाका सूचना अधिकारी इन्सपेक्टर रोहितकुमार शाहीले जानकारी दिए। एक जना बालिकाको भने सनाखत हुन सकेको छैन।
शाहीका अनुसार मृत्यु हुनेमा रोल्पाका माडी गाउँपालिकाका ७७ वर्षीय खड्ग डाँगी, सोही ठाउँकी ३० वर्षीया अमृता घर्ती, ३३ वर्षीय जुनमाया खड्का, रोल्पाकै परिवर्तन गाउँपालिका २ का ३१ वर्षीया रामकली पुन, माडी गाउँपालिका ३ का ५० वर्षीय कर्मा घर्तीमगर र २७ वर्षीय चुपलाल डाँगी छन्।
घाइते ८ जनामध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन्। रोल्पाको घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डमा पर्ने परेवा छहरानजिक सोमबार साँझ ६ बजे दुर्घटनामा परेको हो।