नेकपा एमालेले विकसित नयाँ राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । मङ्गलबार बसेको एमालेको सचिवालय बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन पहलसँगै सबै राजनीतिक दललाई अबको सरकारमा सहभागी हुन आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा भएको सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको जानकारी दिए । नयाँ सरकार बन्ने वातावरण निर्माणका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ छ । एमालेले प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न भने पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस–एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मतको सामना गरेर अघि बढ्ने धारणा राखेका हुन् ।