धादिङको खनियावास गाउँपालिका–१ झार्लाङमा फौजी किराको प्रकोपले मकैबालीमा क्षति पुगेको छ । घोगा लाग्ने बेलाको मकैमा कीराले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । अन्नबालीमा विपद्जन्य घटना र रोगकिराको महामारी निरन्तरको चक्र नै बनेको किसानको भनाइ छ । उनिहरुले बाली भित्र्याएर जीविका चलाउँला भन्ने आश अब नरहेको गुनासो गरेका छन् ।
गएको वैशाखमा असिना पानीले नगदेबाली भित्र्याउन नपाएका किसान यसपाली मकै राम्रो फल्ने आशमा थिए । तर घोगा लाग्न थालेको मकै फौजी कीराले सखाप पारेको झार्लाङका नासुन तामाङले गुनासो गरे ।
खनियावासको उङ्गुल, नेक्सा, याङचेत, च्याङ्थली, फेङ्हुलगायतका क्षेत्रमा एक सय ५० रोपनी जग्गामा लगाएको मकैबालीमा फौजी कीरा लागेको हो । कीराको प्रकोप बढ्दै गएको छ । औषधि प्रयोग गरे पनि कीरा नियन्त्रणमा नआएको किसानले बताएका छन् ।