काठमाण्डौ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाअन्तर्गत मकवानपुरको लेनडाँडा सुरुङमार्ग छिचोलिएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाण्डौ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङको एउटा सुरुङ आज छिचोलिएको हो ।
जोडी सुरुङमध्ये १ हजार ६ सय १२ मिटर लम्बाइको निजगढबाट काठमाण्डौतर्फ आउने सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ । प्रधानसेनापति प्रभुराम शर्माले अनलाइन माध्यममार्फत सुरुङमार्ग छिचोल्ने कार्यक्रम अवलोकन गरेका थिए । प्रधानसेनापतिले तोकिएको समयमा नै सुरुङमार्गहरू छिचोलिने क्रम रहेकोमा खुशी व्यक्त गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई जिम्मेवारी प्राप्त राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद व्यक्त गरे ।