बागमती प्रदेशका विभिन्न ६ वटा जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरिएको छ । बागमती प्रदेश खेलकुद विकास समितिले साढे ३ महिनादेखि रिक्त रहेको १३ वटा जिल्ला खेलकुद विकास समितिमध्ये मकवानपुर, धादिङ, काभ्रे, सिन्धुली, काठमाडौं र सिन्धुपाल्चोक गरी ६ वटामा अध्यक्ष २० असारमा नियुक्त गरेको हो । चितवन, नुवाकोट, रसुवा, ललितपुर, भक्तपुर, दोलखा र रामेछाप जिल्लामा अध्यक्ष नियुक्त गरिएको छैन ।
६ जिल्लामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच भागबण्डा गरेर अध्यक्ष नियुक्त गरिएको स्रोतको भनाइ छ । प्रदेशको युवा तथा खेलकुद मन्त्री एकीकृत समाजवादीकी रमा आले मगर र परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले ४ जिल्ला अध्यक्ष माओवादी केन्द्रलाई र २ जिल्ला अध्यक्ष एकीकृत समाजवादीलाई भागबण्डा लगाएर अध्यक्ष नियुक्त गरेका हुन् ।