चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ । खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो ।यीसहित अहिलेसम्म २३ वटा शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार २३ वटा शवमध्ये अहिलेसम्म १४ जनाको परिचय खुलेको छ । बाँकी नौ वटा शवको सनाखत हुन सकेको छैन ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको छ ।
अरू ६२ जनामध्ये २३ वटा शव भेटिए पनि अझै ३९ जनाको अवस्था थाहा हुन नसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।