आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बङ्गलादेशबाट फर्किन थाले नेपाली विद्यार्थी

बङ्गलादेशबाट फर्किन थाले नेपाली विद्यार्थी

नागरिक पाटी

६, श्रावण २०८१
  • 4.1K
    SHARES
  • बङ्गलादेशबाट फर्किन थाले नेपाली विद्यार्थी

    बङ्गलादेशमा जारी विद्यार्थी आन्दोलनका कारण प्रभावित नेपाली विद्यार्थी स्वदेश फर्किन थालेका छन्। बङ्गलादेशबाट आइतबार ५७ विद्यार्थी काठमाडौं आइपुगेका छन्। उनीहरू बाङ्लादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेज लगायत स्थानबाट स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले बताए।

    images

    उनीहरूलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीलाई सहजीकरण गरिरहेको छ। बाङ्लादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरू नेपाली विद्यार्थीलाई सुरक्षित वातावरणमा राख्न तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गरिरहेको राईले बताए।

    त्यस्तै, पूर्वी नाका काँकडभिट्टा हुँदै आइतबारसम्म ३४० जना नेपाली विद्यार्थी बाङ्लादेशबाट फर्किएका छन्। अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरूले बिहीबार ८५, शुक्रबार ११४ र शनिबार १४१ जना विद्यार्थी स्वदेश फर्किएको बताए। नेपालीसँगै माल्दिभ्सका एक विद्यार्थी पनि काँकडभिट्टा नाका भएर नेपाल आएका छन्।

    परराष्ट्र मन्त्रालयले सूचना जारी गरी बाङ्लादेशमा रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्ति सहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ। मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ।

    यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

    ढाकास्थित नेपाली राजदूतावासले पनि विज्ञप्ति जारी गर्दै विद्यार्थीलाई अत्यावश्यक अवस्थामा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ।

    सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण करीब ८०० नेपाली विद्यार्थी स्वदेश फर्किइसकेको मन्त्रालयले शनिबार जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०८१ आइतवार - १४:२१:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology