आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कांग्रेसका बहादुर लामाले बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै

कांग्रेसका बहादुर लामाले बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै

नागरिक पाटी

७, श्रावण २०८१
  • 3.4K
    SHARES
  • कांग्रेसका बहादुर लामाले बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै

    बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । बागमती प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले दाबी पेस गर्दै छन् । हेटौंडामा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

    images

    नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार आह्वान गरेका थिए । उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनको आह्वान गरेका हुन् ।

    नेकपा एमालेको समर्थनमा लामाले आज सोमबार १० बजेपछि मुख्यमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।

    मुख्यमन्त्री बन्न लागेका कांग्रेस संसदीय दलका नेता लामा २०७९ मंसिर ४ मा सम्पन्न निर्वाचनमा नुवाकोट २ ९२० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    पेसाले निर्माण व्यवसायी उनी २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा विजयी भएका थिए । लामा २०५४ सालमा गाविस अध्यक्ष बनेर जनप्रतिनिधिको भूमिकामा रहेर काम गरिसकेका नेता हुन् ।

    १३ पुस ०७९ मा भएको नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा लामा विजयी भएसँगै मुख्यमन्त्री हुने ढोका खुलेको थियो ।

    दलको नेता छान्न भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका थिए । लामाले २१ मत पाए भने बानियाँले १६ मत मात्र पाए ।

    लामाले प्रदेश सभाको पहिलो दल कांग्रेसका ३७ र दोस्रो दल एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

    बागमतीमा कांग्रेसले पहिलोपटक सरकारको नेतृत्व गर्दैछ । संघीयता लागू भएसँगै बागमतीमा चार जना मुख्यमन्त्री बने पनि कांग्रेसको नेतृत्वमा सरकार बन्न सकेको थिएन ।

    प्रदेशको पहिलो कार्यकालमा तत्कालीन नेकपाबाट डोरमणि पौडेल, नेकपा विभाजनको संघारमा अष्टलक्ष्मी शाक्य र एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे मुख्यमन्त्री भएका थिए ।

    तत्कालीन कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनको भागबण्डामा पाण्डेले मुख्यमन्त्री पाएपछि प्रदेश सभाको दोस्रो ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर गुमाएको थियो । त्यतिबेला कांग्रेसबाट इन्द्रबहादुर बानियाँ मुख्यमन्त्रीको दाबेदार थिए ।

    प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका माओवादी केन्द्रका जम्कट्टेल १८ महिने सरकार चलाएर आइतबार बाहिरिए ।

    प्रदेश प्रमुख शर्माले जम्कट्टेललाई अर्को सरकार गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा (३)बमोजिम काम चलाउ सरकारको रुपमा कार्य सञ्चालन गर्न अनुमति दिएका छन् ।

    प्रदेश सभामा कांग्रेसको ३७ र एमालेको २७ जना सांसद छन् । ११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको बहुमत आवश्यक पर्छ ।

     

     

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८१ सोमवार - ०८:५१:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology