साशा इञ्जिनियरिङ हाइड्रोपावरको आइपिओ निष्कासनका लागि एनआइएमबी एस क्यापिटललाई बिक्री तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । साशाले जारी पुँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्कासन मार्फत् धितोपत्र निष्कासन गर्न एनआइएमबी एस क्यापिटललाई नियुक्त गरेको हो ।
सन् २००७ मा स्थापना भएको साशा इञ्जिनियरिङ हाइड्रोपावरले दोलखास्थित खानी खोलाको पानी प्रयोग गरी ३० मेगावाट क्षमताको खानी खोला (दोलखा) जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि विद्युत् ऐन, २०४९ बमोजिम विद्युत् उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरी उक्त आयोजनाबाट उत्पादन हुने विद्युत् शक्ति खरिदबिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ ।
हालसम्म आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा निष्कासन कम्पनीका अध्यक्ष पवित्रकुमार कार्की तथा र निष्कासन तथा बिक्री प्रबन्धकका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडले हस्ताक्षर गर्नुभएको हो । सो अवसरमा साशाका कम्पनी सचिव दिलिपकुमार चौधरी तथा एनआइएमबी एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुंगानासमेतको उपस्थिति रहेको थियो ।