ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन आज हुने भ्एको छ । स्थानीय समयअनुसार बेलुकी साढे ७ बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्घाटन हुन लागेको हो ।
पेरिस ओलम्पिकमा फुटबल, रग्बी लगायतका खेल शुरु भइसकेका छन् । औपचारिक उद्घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ ।यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।
पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका झण्डै साढे १० हजार खेलाडीले ३२ खेलमा प्रतिस्पर्धा गर्ने छन् । यसपालि रुस र बेलारुसले भने ओलम्पिकमा औपचारिक सहभागिता जनाएको छैन । ओलम्पिककै इतिहासमा पहिलो पटक महिला र पुरुष खेलाडीको संख्या झन्डै बराबर छ । खेलका लागि ३० हजार स्वयंसेवक परिचालन गरिदैछ । ओलम्पिकका लागि पेरिसमा १५ वटा खेल स्थलको व्यवस्था गरिएको छ । जहाँ ३२ मध्ये २१ वटा खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका सहरमा गरिने छ ।