काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ । आज नेप्से ५.२९ अंकले घटेर दुई हजार ७५५.२९ बिन्दुमा बजार बन्द भयो ।
आज शेयर बजारले २८ सय बिन्दुको आकडा पार गरेको थियो । उतारचढावका बीच दिउँसो १२:३१ मा २८०० बिन्दुभन्दा माथि पुगेको शेयर बजार दिउँसो १२:३९ मा २८०५:७१ बिन्दुमा पुगेको थियो । त्यसपछि उतारचढावका बीच घट्दै गएको नेप्से कारोबार समय ८ मिनेट मात्र बाँकी रहँदा केही अंकले बढेर बजार बन्द भएको हो ।
नेप्सेमा करेक्सन देखिए पनि आज पनि शेयर बजारमा उच्च रकमको कारोबार भएको छ । आज २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । हिजो नेप्सेमा २१ अर्ब ९१ करोड १५ लाख बराबरको करोबार भएको हो । यो कारोबार हालसम्मकै उच्च हो ।
आजको कारोबार हालसम्मकै उच्च कारोबारमा दोस्रो हो । यसअघि २०७८ साउन ३१ गते आइतबार नेप्सेमा २१ अर्ब ६४ करोड ७६ लाख बराबरको करोबार भएको थियो ।