देशभर हैजा संक्रमितको सङ्ख्या २७ पुगेको छ । साताअघि ललितपुरमा देखिएको हैजा अहिलेसम्म पाँच जिल्लामा २७ जनामा पुष्टि भएको हो । सबैभन्दा बढी उपत्यकाको ललितपुरमा १६ र काठमाडौँमा एक गरी उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।
यसै गरी कैलालीमा आठ र प्युठानमा दुई जनालाई हैजा पुष्टि भएको छ । भक्तपुर चाँगुनारायणका एक जनालाई हैजा पुष्टि भए पनि उनको ललितपुरमै गणना गरिएको छ ।
गर्मी र बर्खाको समयमा झाडापखाला, हैजा तथा पानीजन्य रोग फैलिने हुँदा सतर्कता अपनाउन स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले आग्रह गरेको छ ।