नेपाली धितोपत्रको दोस्रो बजारमा भोल्यूमले निरन्तर दोस्रो कारोबार दिन अलटाइम हाइ रेकर्ड बनाएको छ। आइतबार २५ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएर भोल्यूममा अलटाइम हाइ रेकर्ड बनेको बजारमा सोमबार २७ अर्बभन्दा बढीको शेयर किनबेच भएको छ।
सोमबार नेप्सेमा ३३९ स्टकको २ लाख ८३ हजार ४७ पटकको कारोबारमा २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
साताको दोस्रो कारोबार दिन नेप्से भने साढे २ प्रतिशत बढेर २९०० विन्दुभन्दा माथि बन्द भएको छ। आइतबार साढे ९४ अंक बढेको नेप्से, यस दिन ७०.८१ अंक बढेर २९३१.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १०.५६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४।०६ अंक बढेको छ।
यस दिन ११ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस्तै शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंकको ३ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, होटल तथा पर्यटन र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।