नेपालले २० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ । २० वर्षमुनिको साफ च्याम्पियनशिप पर्सि भदौ २ गतेदेखि १२ गतेसम्म नेपालमा आयोजना हुँदैछ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि नेपाली टोलीले गएको असारको अन्तिम हप्तादेखि तयारी गरेको हो । यसबीचमा युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पाएका छन् ।
उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटोको टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरिरहेको छ । प्रशिक्षक श्रेष्ठले तयारी अन्तिम चरणमा पुगेको अवस्थामा टोली बलियो देखिएको उल्लेख गर्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताए ।
नेपाली टोलीका कप्तान कुशल देउवाले पर्याप्त तयारी पाएकाले घरेलु मैदानमा राम्रो प्रदर्शन गर्ने बताएका छन् । प्रतियोगिता घरेलु मैदानमा भएकाले टोलीले यसलाई उपाधि जित्ने अवसरका रूपमा लिएको कप्तान देउवाको भनाइ छ ।