गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिक यात्राका लागि सात हजार पाँच सय २३ जना तिर्थयात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन ।
रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार कैलाशयात्रा गर्ने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अस्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेका थिए। उनीहरूको साथमा करिब दुई सय अन्य देशका पर्यटकसमेत मानसरोवर कैलाश गएको अध्यागमन कार्यालयले जनाएको छ।धार्मिकयात्रीमध्ये काठमाडौँबाट टिमुरे तथा स्याफ्रुबेँसीका लागि दुई हजार १० यात्री हेलिकप्टरबाट र अन्य यात्री मोटरमार्फत स्थलमार्गबाट रसुवागढी पुगेको रसुवा जिल्ला प्रहरी प्रवक्ता नेत्रप्रसाद पौडेलले जानकारी दिए।
मानसरोवर कैलाशयात्राका लागि फाट्टफुट्ट रूपमा जान नपाइने र ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने चिनियाँ प्रावधान रहेको बताउँदै अध्यागमन प्रमुख निरौलाले खर्चको हिसाबमा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट पाइएको छ । नेपालीका लागि कुनै ट्राभल एजेन्सीले एक लाख ३५ हजार र कुनैले एक लाख ७० हजारसम्म लिने गरेको यात्रीले बताएका छन्।
यस्तै रसुवागढी नाकाबाट एक हजारभन्दा बढी विदेशी पर्यटक ल्हासातर्फ गएका छन्। मानसरोवर कैलाश जानका लागि भारतीय नागरिक भने नआएको अध्यागमन कार्यालयले जनाएको छ। कैलाश तीर्थ गएका यात्रीमध्ये लेक लाग्ने समस्याका कारण एक विदेशीसहित चारजना नेपालीको मृत्यृ भएको र आठजना नेपाली बिरामी परेको जानकारी सुरक्षाकर्मीले दिए।
रसुवागढीको सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए। दैनिक रूपमा मानिस तथा मालवाहक सवारीसाधन ओहरदोहर भइरहने नाका क्षेत्रमा हुनसक्ने अवैध चोरी सिकारी नियन्त्रणका लागि सुरक्षाकर्मीद्वारा विभिन्न कोणबाट जाँचकार्य तीव्र बनाइएको छ।