शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालीको महान् पर्व बडादशैँ सुरु

नेपालीको महान् पर्व बडादशैँ सुरु

नागरिक पाटी

१७, आश्विन २०८१
  • 2.4K
    SHARES
  • नेपालीको महान् पर्व बडादशैँ सुरु

    यस वर्षको बडादशैँ आजदेखि शुरू भएको छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    images
    images

    आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

    आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

    आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।

    दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।

    नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०८१ बिहिवार - ०८:०८:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology