शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

नागरिक पाटी

२२, आश्विन २०८१
  • 2.1K
    SHARES
  • आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

    आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

    images
    images

    छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाइन् ।

    नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

    यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

    नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो ।

    चौथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन सोमबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

    दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यस वर्ष भने चौथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकालमा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस अवसरमा राजधानी र राजधानी बाहिरका शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजा, आराधना एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, पारिवारिक सुख शान्ति एवं ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहीआएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - ०६:२९:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology