शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

नागरिकपाटी न्युज डेक्स

२२, कार्तिक २०८१
  • 3.5K
    SHARES
  • आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

    आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

    images
    images

    बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खिर षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

    यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि रहेको छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।

    छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउलगायतको बढी प्रयोग गरिन्छ । छठका लागि तराई, मधेश र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् ।

    पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ । तराईरमधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ । छठ पर्वका लागि काठमाण्डौको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, कमलपोखरीलगायत वागमती, नख्खु र विष्णुमती नदी किनारमा सजावट गरिएको छ ।

    छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका छन् ।छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । 

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २२, २०८१ बिहिवार - ०७:४९:०२ बजे

    नागरिकपाटी न्युज डेक्स

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology