नेपालमा उत्पादित विद्युत् शुक्रबारबाट बंगलादेश निर्यात हुन थालेको छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्याइएको हो । शुक्रबार दिउँसो साढे १२ बजेबाट साढे ११ घण्टा विद्युत् निर्यात गर्दा नेपाल विद्युत् प्राधिकरणलाई २८ हजार १ सय ६० डलर (३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ) आम्दानी भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादित विद्युत् ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिक्री गर्ने छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट बिजुली बंगलादेशतर्फ निर्यातका लागि कात्तिक २९ मा स्वीकृति दिएको थियो । यो स्वीकृति सन् २०२९ अक्टोबर २ सम्मका लागि छ ।