धादिङ । यस वर्षको अन्तर्राष्ट्रिय सालक दिवस भैरवी मन्दिर परिसरमा मनाउने निर्णय गरिएको छ।
डिभिजन वन कार्यालय धादिङको संयोजन र भैरवी मन्दिर गुठी व्यवस्थापन समितिको सहभागितामा फाल्गुन ३ गते विशेष कार्यक्रमसहित मनाउने निर्णय भएको हो।
शनिबार सम्पन्न बैठकमा भैरवी गुठी व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर राना, प्रमुख अतिथि डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य र विशेष अतिथि नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक नवीन बन्ध्यु पहाडीको उपस्थिति रहेको थियो। बैठकले उक्त निर्णय गरेको हो।
बैठकले फाल्गुन ३ गते (फेब्रुअरी महिनाको तेस्रो शनिबार) सालक दिवसको अवसरमा सालकको मूर्ति भैरवी मन्दिर गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो।
आचार्यका अनुसार, अन्तर्राष्ट्रिय सालक दिवस मनाउन धादिङबेशीबाट भैरवी मन्दिरसम्म पदयात्रा आयोजनाको निर्णय गरिएको छ। विषेश गरी धादिङ जिल्लाका युवा विद्यार्थीहरुलाई उच्च प्राथमिकता दिएर सालक संरक्षणमा जोड्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।