खनियाबास । घर बगैंचाको स्थापना र व्यवस्थापन २ दिने तालिम सम्पन्न भएको छ । खनियाबास गाउँपालिका वडा नं. ४, दार्खामा सम्पन्न भएको तालिममा १६ जना कृषकहरूको सहभागितामा थियो । प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा संचालित उत्थानशील जनजिविका तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत तालिम सम्पन्न गरिएको हो।

घर बगैंचाको स्थापनाका लागि उपयुक्त स्थान र सामग्री छनोट, माटो व्यवस्थापन, सिँचाइ प्रणाली, र जैविक कृषि पद्धतिहरूको प्रयोगबारे जानकारी ,नर्सरी व्यवस्थापन, फलफूलको रोपण र हेरचाह, च्याउ उत्पादन, र जडीबुटी बगैंचाको व्यवस्थापनका उपायहरूबारे सहजकर्ता नवराज न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।
तालिम समापनमा खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङको प्रमुख आतिथ्यमा भएको थियोे । अध्यक्ष तामाङले स्थानीय कृषकहरूको आय आर्जन र पोषण सुधारका लागि घर बगैंचाको भूमिका महत्त्वपूर्ण , पोषण सुधार र जिविकोपार्जन समेत टेवा पुग्ने भएकोले कृषकहरुलाई ईमानदारीपुर्वक घर घरमा बगैंचा स्थापना र व्यवस्थापन गर्ने अभियान नै संचालन गर्नुपर्ने बताउनु भएको प्रयास नेपाल,धादिङका प्राविधिक रुपेश तामाङले जानकारी दिनु भयो ।

प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम संयोजक पवन प्याकुरेलले कृषक समुहका सदस्यहरुलाई घर बगैंचा स्थापना र व्यवस्थापनमा समक्ष बनाउने उदेश्यले २ दिने तालिम संचालन गरिएको र तालिम पछि समुदायमा नमुना घर बगैंचा स्थापना गर्न कृषकहरुलाई सहयोग तथा उत्प्रेरित गरिने बताउनु भयो ।
कृषकहरूलाई आत्मनिर्भर बन्न र दिगो कृषि प्रणालीको अभ्यास मार्फत पोषण सुधार र आय आर्जन गर्न घर बगैंचा व्यवस्थापन तालिम सहयोगी हुने पनि फिल्ड संयोजक प्याकुरेलले बताउनु भयो ।