धादिङ । धादिङमा अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखीले जितेको छ । जिल्लाको सदरमुकाम धादिङबेसीमा जारी प्रथम लोक तथा सांस्कृतिक महोत्सवले आयोजना गरेको अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामूखी गाउँपालिकाको संगिना मगर र सुरेन्द्र मगरको समूहले हात पारेको हो ।
ज्वालामूखी गाउँपालिकाका कलाकारले गजुरी गाउँपालिकाका कलाकारलाई पछि पार्दै विजय भएका हुन् । गजुरी गाउँपालिकाको सफल अर्याल र सिता बराल द्धितिय भएका छन् । त्यस्तै, सिद्धलेक गाउँपालिकाका भावना अर्याल र प्रदिप बराईली र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समूहले भने बराबर अंक प्राप्त गरि तृतिय भएका छन् ।
प्रतियोगितामा विजयी प्रथम, द्धितिय र तृतिय भएका समूहलाई क्रमशः ५० हजार, ३० हजार र १५र१५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङकी अध्यक्ष कमला गैरेले जानकारी दिइन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको महोत्सव २२ माघसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले जानकारी दिनु भएको छ। २० गतेसम्म सञ्चालन गरिने भनिएपनि विशेष कारणवश दुई दिनको समय थप गरिएको संयोजक कोइरालाको भनाई छ ।
‘लोक संस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारा सहित धादिङमा पहिलो लोक तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको हो । धादिङको रैथाने मौलिक लोक संस्कृति तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन र परम्पराको जगेर्ना गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए ।