धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालले न्यूनतम सेवा मापदण्डमा ८२ प्रतिशत अंक प्राप्त गरेको छ। वि.स २०८० पौष ३ गतेदेखी एक सय शैयामा स्तरोन्नती भएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले ८२ प्रतिशत अंक ल्याएको हो ।
शुक्रबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले अस्पतालको सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुगमनबाट अस्पतालले प्राप्त गरेको अंक सार्वजनिक गरेको छ ।
मूल्याङ्कन टोलीका डा.नवीन दर्नालका अनुसार मापदण्डको प्रकृतिको आधारमा बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा, र सहयोगी सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्याङ्कन गर्दा धादिङ अस्पतालले ८२ अंक प्राप्त गरेको हो।
न्यूनतम सेवा मापदण्ड कायान्वयन सम्बन्धी सार्वजनिक कार्यक्रममा विशेषज्ञ सेवा, ल्याव सेवा, ईमरजेन्सी सेवा, सुत्केरी सेवा लगायतका सेवाहरुको प्रभावकारिता धेरै रहेको र सेवाग्राहीले समेत खुलेर प्रशंसा गरेको जानकारी दिँदै भवन नयाँ निर्माण गरेर सेवालाई प्रभावकारी बनाउन सुझाव दिइएको थियो।