धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ को अमलेचौरमा महिलाहरूका लागि सञ्चालन गरिएको सात दिने अचार बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ।
उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजनामा तथा धुनिबेशी नगरपालिका र वडा कार्यालयको समन्वयमा अचार बनाउने तालिम सञ्चालन गरिएको हो ।
असार ४ गतेदेखि सुरु भएको तालिम आज बुधबार सम्पन्न भएको छ । ७२ जना महिलाको सहभागिता रहेको तालिममा रजनी लामा, गङ्गा लामा, लिला गौतम, पम्फी तामाङ र रबिना गुरुङले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष विशाल भट्टराईले तालिमले महिलाहरूको सीप र आत्मनिर्भरता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ । उहाँले सहभागी महिलाहरूलाई सिकेका सीपहरू व्यवहारमा उतार्न आग्रह गर्नु भयो।
कार्यक्रममा बोल्नु हुँदै धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले कार्यक्रमप्रति प्रशंसा गर्दै नगरपालिकाले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता महत्वपूर्ण तालिमहरू प्रदान गर्दै जाने प्रतिबद्धता जनाउनु भयो। व्यवसायिक रुपमा योजना सहित आउने व्यक्तिलाई वडा तथा नगरपालिकाबाट आवश्यक समन्वय र सहयोग प्रदान गरिने समेत उहाँले बताउनु भयो।
उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीको अध्यक्षतामा सम्पन्न भएको तालिममा स्थानीय महिलाहरूलाई अचार उत्पादनको सीप प्रदान गर्दै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्य रहेकोे छ।
कार्यक्रममा धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, वडा अध्यक्ष विशाल भट्टराइ, पूर्व उप–प्रमुख निरु खरेल, वडा सदस्य सरिता आचार्य, सहकारीकर्मी प्रमिला पण्डित लगायतको सहभागीता रहेको थियो।