नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डा. मुरारी अधिकारी नियुक्त हुनुभएको छ । धादिङको धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको आगामी चारवर्षे कार्यकालका लागि अधिकारी क्याम्पस प्रमुखमा नियुक्त हुुनुभएको हो ।
०५७ मा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन प्राप्त गर्ने जिल्लाको पहिलो र एक मात्र क्याम्पस हो । स्नातक तथा स्नातकोत्तरसम्मको अध्यापन गराइने नीलकण्ठ क्याम्पसमा करिब एक हजार विद्यार्थी अध्ययनरत छन् ।
नीलकण्ठ क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख नवराज शर्माको दुई कार्यकालको आठ वर्ष सकिएलगत्तै क्याम्पस प्रमुख कसलाई बनाउने भन्ने विषयमा चर्चा चलेको थियो । क्याम्पस सञ्चालक समितिको ११३औँ बैठकबाट अधिकारीलाई क्याम्पस प्रमुखको जिम्मेवारी तोकेको हो ।
नीलकण्ठ क्याम्पसको नवनियुक्त क्याम्पस प्रमुख अधिकारीले नीलकण्ठ क्याम्पसको शैक्षिक गुणस्तर तथा क्याम्पसको गरिमालाई थप उचाइमा पुर्याउने गरी काम गर्ने बताउनुभएको छ । अधिकारी डेढ दशक लामो समयदेखि अध्यापन पेसामा निरन्तर सक्रिय छन् । त्यस्तै गरी, दुई दशकदेखि पत्रकारितामा समेत उनी सक्रिय रूपमा छन् ।