धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको गुडस्टार्ट ईङ्लिस स्कुलका प्रिन्सिपल हर्क बहादुर तामाङ (लामा) को निधन भएको छ । गत असार २२ गते देखि निमोनिया रोगका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराईरहनुभएका लामाको उपचारकै क्रममा आईतबार (साउन ११) निधन भएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राजु रेग्मीले बताउनुभयो ।
दार्जिलिङ स्थायी घर भएका प्रिन्सिपल लामाले धार्केमा वि.स. २०५१ सालमा गुडस्टार्ट ईङ्लिस स्कुलको स्थापना गर्नुभएको थियो ।
स्कुलमा श्रद्धाञ्जली सभा, लामाको निधनले सबै स्तब्ध
नर्भिक अस्पतालमा उपचारको क्रममा प्रिन्सिपल लामाको निधन भएपछि उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जली सभाका लागि स्कुलमा ल्याउने जानकारी पछि स्कुल परिसर अभिभावक, विद्यार्थी र स्थानियले खचाखच भयो । ढल्कदोँ रात र आकाशे पानीको पनि पर्वाह नगरि सहभागीहरु लामाको पार्थिव शरिरलाई कुरिरहे । पार्थिव शरिर बोकेको एम्बुलेन्स जब स्कुलको ग्राउण्डमा प्रवेश ग¥यो, तब सबैका आँखा झनै रसाए ।
त्यसको केहि समयपछि लामाको परिवार (श्रीमती ज्योती, छोरी जस्मिन, छोरा विधान ) लगायत चढेको माईक्रो बस स्कुलमा प्रवेश गरेपछि माहौल कोलाहल नै बन्यो ।
आईतबार बेलुका धार्के स्थित स्कुलमा भएको श्रद्धाञ्जली सभामा धुनिवेशी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा नगरप्रवक्ता रमेश आचार्यले धुनिवेशी र थाक्रेका नागरिकलाई शिक्षाको माध्यमबाट लामाले अतुलनिय योगदान पुु¥याउनुभएको र उहाँको निधनले यस क्षेत्रका नागरिकले ठुलो क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
रातको समयमा भएको श्रद्वाञ्जली सभामा विद्यालय व्यवस्थापन समिती, शिक्षक, स्थानिय, अभिभावक, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । धार्केको श्रद्वाञ्जली सभा पछि लामाको पार्थिव शरिरलाई दार्जिलिङ लगिएको छ ।
प्रिन्सिपल लामाको निधन पछि विद्यालयले सोमबार शोक बिदा दिएको छ ।