हेटौंडा । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङलाई दिइएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नवगठित सरकारले मंगलबार पहिलो मन्त्रिपरिषद् बैठक गर्दै मन्त्री तामाङलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकले हालको मौसमजन्य प्राकृतिक विपत्तिको जोखिमलाई दृष्टिगत गर्दै तत्कालीन उद्धार, राहत तथा प्रतिकार्यका लागि समन्वित पहल अघि बढाउने निर्णयसमेत गरेको छ। मन्त्री तामाङका अनुसार उच्चस्तरीय एकीकृत संयन्त्र निर्माण गरिनेछ, जसको संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री रहनेछन् भने विभिन्न प्रशासनिक निकायका प्रमुख सदस्य रहनेछन्। उक्त संयन्त्रलाई सधैं तत्काल प्रतिक्रिया दिन सक्ने तयारी अवस्थामा राखिने र आवश्यक सामग्रीहरू अग्रिमरूपमै उपलब्ध गराइनेछ।
बैठकले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट वासस्थान गुमाएका नागरिकहरूका लागि अस्थायी बसोबासको व्यवस्था गर्न प्रदेश सरकार अग्रसर हुने निर्णय गरेको छ।
साथै, विपत्तिबाट क्षतिग्रस्त भएका सडकहरूलाई संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित स्थानीय तहसँगको सहकार्यमा तत्काल मर्मत गरी सवारी सञ्चालनको अवस्था कायम गरिनेछ।