मुलुकमा यसपालि १ भदौसम्म ९४ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यो परिमाण गत वर्ष सोही अवधिको दाँजोमा ४ प्रतिशतभन्दा कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ भएको हो । २ भदौ २०८१ मा भने ९८.४४ प्रतिशत रोपाइँ भएको थियो ।
मन्त्रालयका अनुसार १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ भदौसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा धान रोपाइँ भएको छ ।
प्रदेशगत हेर्दा कोशीमा २५ साउनसम्म ९४.४२ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी मधेश प्रदेशमा ३० साउनसम्म ८६.३५ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी बागमती प्रदेशमा २५ साउनसम्म ९७.२७ प्रतिशत रोपाइँ सकिएको छ । यस्तै गण्डकी प्रदेशमा १ भदौसम्म ९४.८३ प्रतिशत रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा २५ साउनसम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ ।
यसैगरी कर्णाली प्रदेशमा १ भदौसम्म ९९.३४ प्रतिशत रोपाइँ सकिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा १८ साउनसम्म ९९.७२ प्रतिशत रोपाइँ भएको छ ।