धादिङको गल्छी गाउँपालिकाले गिनिज वर्ल्ड रेकर्ड बनाएकामा सुनिल खड्का सहित अन्य २ विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकाले एक मिनेटमा ३२ पटक क्ल्याप पुल–अप गरी गिनिज वर्ल्ड रेकर्ड बनाएकोमा खड्कालाई ५० हजार रुपैँया, खादा र सम्मानपत्र सहित सम्मान गरेको हो । उनले गत असार ७ गते ललितपुरमा भएको उक्त खेलमा किर्तिमान बनाएका थिए ।
गएको असार ७ गते ललितपुरको बज्र ननिता फिटनेसमा गिनिजबुक अफ विश्व रेकर्डस्का प्रतिनिधिसहित भएको खेलमा खड्काले क्ल्याप पुल अपमा विश्व रेकर्ड कायम गरेका थिए। खड्काले सो रेकर्ड १० वर्षपछि तोडेका हुन् । यसभन्दा अगाडि अमेरिकी नागरिक ब्लेक अगस्टिनको नाममा यो रेकर्ड रहेको थियो । उनले एक मिनेटमा ३० पटक क्ल्याप पुल अप गरेका थिए।
सम्मानपत्र प्राप्त गरिसकेपछि खड्काले गाउँपालिकाले दिएको सम्मानलाई अविस्मरणीय र महत्वपूर्ण रहेको बताए । उनले यस्तो किसिमको सम्मानले थप हौसला प्रदान गर्ने बताएका थिए। गर्यो भने सबै सम्भव छ भन्ने उदाहरण आफूले पेश गरेको खड्काको भनाइ थियो।
गल्छी गाउँपालिका वडा नम्बर ४ का खड्काले ललितपुर इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरिरहेका छन्। गाउँपालिकाको र अन्य सहयोगीहरूको साथ हौसला र सहयोग पाए आगामी दिनमा थप प्रगति हासिल गर्ने आफु सक्रिय रहने उनले बताए ।
यस्तै एसइइमा ४ जिपिए प्राप्त गरेका जनकल्याण माध्यमिक विद्यालयका सौरभी वाग्ले र समृद्धि दाहाललाई गाउँपालिकाले जनही ५० हजार र सम्मानपत्र सहित सम्मान गरेको छ ।
विद्यार्थीहरु वाग्ले र दाहालको अनुपस्थितीमा उनिहरुका अभिभावक मार्फत सम्मान गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
यस्तै गाउँपालिकाले उत्कृष्ट नतिजाका लागि जनकल्याण माध्यमिक विद्यालयलाई पनि सम्मानपत्र सहित सम्मान गरेको छ । उक्त विद्यालय व्यवस्थापन समिती अध्यक्ष र प्रधानाध्यापकलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सम्मान गर्दै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सो क्रममा गल्छी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजु अधिकारीले गाउँपालिकामा प्रतिभावान युवा तथा विद्यहरूको मनोबल बढाउनको लागि आफू सदैव तयार रहेको बताएका थिए। उनले आगामी दिनमा सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
सम्मान कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारी, सम्पुर्ण वडाका अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।