देशभरका ७५३ स्थानीय तहमध्ये नगरपालिका तर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिका तर्फ धादिङकै बेनिघाट रोराङ गाउँपालिका संस्थागत स्वमूल्याङ्कनमा देशकै उत्कृष्ट भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको देशव्यापी नतिजामा धादिङ जिल्लाले ऐतिहासिक उपलब्धि हासिल गरेको हो।
नीलकण्ठ नगरपालिका संस्थागत स्वमूल्याङ्कनमा ९३.५० अङ्क ल्याएर उत्कृष्ट भएको हो भने बेनीघाट रोराङ गाउँपालिका ९१.७५ अङ्क ल्याएर गाउँपालिहरु मध्ये पहिलो भएको छ ।
शुक्रबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गाना र बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक) लाई सम्मान गर्नुभयो । विभिन्न एकसय वटा सूचकहरुमा भएको मूल्याङ्कनको आधारमा आ.व २०८०÷८१ मा दवै स्थानिय तह प्रथम हुन सफल भएको हो ।
स्वमूल्याङ्कनका लागि कार्यविधिले विभिन्न १० वटा विषयक्षेत्र निर्धारण गरेको छ । त्यसमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपत व्यवस्थापन र सहकार्य तथा समन्वयलाई सूचक मानेर स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन गर्ने गरिन्छ ।
मन्त्रालयले धादिङको नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका, खैरहनी नगरपालिका चितवन र तिलोत्तमा नगरपालिका रुपन्देही, अर्जुनचौपारी गाउँपालिका स्याङ्जा र रुरुक्षेत्र गाउँपालिका गुल्मीलाई सम्मान गरेको छ ।