प्रदेश सरकारले एक वर्षको अवधिमा एक हजारभन्दा बढी पर्यटकीय पूर्वाधार विकास गरेको छ । गत आर्थिक वर्ष प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास आयोजनाहरूबाट १ हजार ३१९ वटा पूर्वाधार निर्माण भएको हो ।
प्रदेश सरकार अन्तर्गतको संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्रदेशका १३ जिल्लामा ४९६ वटा मन्दिर निर्माण भएका छन् भने गुम्बा २१९ वटा बनाइएको छ । मन्त्रालयका अनुसार एक वर्षमा १५७ वटा पार्क, ५१ पदमार्ग, ३० किरियापुत्री भवन, १९ चर्च, ३ वटा मस्जिद निर्माण गरिएको छ । उक्त अवधिमा मसानघाट, पाटी–पौवा, शौचालय, सांस्कृतिक सम्पदा, सामुदायिक भवनजस्ता पूर्वाधार ३४३ वटा निर्माण तथा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सूचना अधिकारी अशेष खड्काले आगामी दिनमा अझ प्रभावकारी पर्यटकीय पूर्वाधार निर्माण गरेर उत्पादन र आर्थिक उपार्जनमा जोड्ने योजना रहेको बताए ।