✍️ कुमार पाण्डे
आजको समाज कस्तो भईसकेको छ यहाँहरुले पछिल्लो समय हेर्नु अनि देख्नुभएकै छ । यो समाजमा हामी पनि पुरानो पुस्ताको जस्तो भईसकेका छौँ । अहिलेका २०/२२ वर्षका कलिला भाइबहिनीहरू (युवा पुस्ता) ले देश, जिल्ला र समाज कस्तो बनाउने भनेर छलफल गर्न थालिसकेका छन् ।
नयाँ पुस्ताले अब हाम्रो विकासको मोडल कस्तो हुने, समाजलाई कस्तो बनाउने भन्ने विषयमा कल्पना गरिरहेका छन् । यो काममा संसारका विभिन्न ठाउँमा रहेका नेपाली युवाहरु संलग्न छन्, जस्तैः कोहि न्युयोर्क, कोहि अस्ट्रेलिया, कोहि दुबई लगायतका विदेशी मुलुक र कोहि नेपालको विभिन्न सहर समुदायभित्र बसेका । म यो नयाँ पुस्तालाई एकजूट भएर अगाडि बढ्न शुभकामना दिँदै उनीहरूको पालोमा देश पक्कै एउटा सम्पन्न देश हुनेछ भन्ने विश्वास राख्दछु ।
मानव विकासमा शिक्षा र खेल दुवै महत्वपूर्ण छन् । शिक्षाले मान्छेलाई विवेक दिन्छ, अनि खेलले मान्छेलाई अनुशासन । यी दुई (शिक्षा र खेल) एकअर्काका परिपूरक जस्तो भएर विकासको क्रममा अगाडि बढ्नुपर्छ ।
देशको समृद्धि, विकास र समाजको उन्नति प्रगतिको सम्भावनाका लागि तीनवटा पुस्ताको समन्वय आवश्यक छ । आफ्नो पुस्ता न माथिको, न तलको, तर बिचको पुस्ता हो । अब बिचको पुस्ताले तलको (युवा) पुस्ताले गर्न लागेको कामलाई समर्थन गर्ने अनि बिचको पुस्ताले आफूभन्दा माथिको पुस्तालाई अभिभावक बनाएर राख्ने । यदि यो चरणबाट तिनवटा पुस्ता मिल्यो भने मात्र देशको समृद्धि र विकास सम्भव छ ।
(नेपाल तेक्वान्दो महासँघ धादिङको चौथो अधिवेशनमा युवा नेता तथा समाजसेवी पाण्डेले व्यक्त गर्नुभएको विचारको सम्पादित अँश)